विराटनगर । विराटनगर-१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।
कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका २३ औं ब्याचका ९ सय २५ जना विद्यार्थीहरूलाई विराटनगरको कञ्चनजंगा होटेलमा शनिवार एक कार्यक्रम आयोजना गरी शुभकामनासहित बिदाइ गरेको हो ।
वार्षिक परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीहरूलाई कलेजले मायाको चिनो प्रदानसहित बिदाइ गरेको थियो ।
कार्यक्रममा कलेजले लिएको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको छ भने कलेजमा भएको आन्तरिक खेलकुद तथा हिसान खेल महोत्सवमा विजेता खेलाडीलाई सम्मानसमेत गरेको छ ।
कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की, संस्थापक निर्देशकहरू डा. भवीन्द्र निरौला, विकास खनाल र प्राध्यापकहरू विमल भट्टराई र अरूण कोइरालालगायतले विद्यार्थीहरूलाई उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिएका थिए ।
त्यस्तै कलेजका विद्यार्थी विभूषणकिरण रेग्मी र विवेक रौनियारले कलेजका बितेका दुई वर्षको अनुभव सुनाएका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य, गीत आदि प्रस्तुत गरेका थिए ।
Post Views: 5